वैदेशिक रोजगारीको पीडा: १० महिनामै १,२९४ नेपालीको मृत्यु, एक दशकमा झन्डै १२ हजारले गुमाए ज्यान
रोजगारको खोजीमा विदेशिएका नेपाली श्रमिकको मृत्यु दर चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामै १,२९४ नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्।
साउन १ गतेदेखि वैशाख मसान्तसम्मको अवधिलाई समेट्ने उक्त तथ्यांकले केवल वैशाख महिनामै १५३ जनाको मृत्यु भएको देखाएको छ। यसले विदेशमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र कार्यपरिस्थितिबारे गम्भीर प्रश्न उठाएको छ।
बोर्डका अनुसार पछिल्लो १० वर्ष १० महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या ११ हजार ९८८ पुगेको छ। वर्षगत विवरण हेर्दा २०७२/७३ मा ८१६ जनाको मृत्यु भएको थियो भने पछिल्ला वर्षहरूमा यो संख्या क्रमशः बढ्दै गएको देखिन्छ। २०७७/७८ मा १,२४२, २०७८/७९ मा १,३९५, २०७९/८० मा १,२०८, २०८०/८१ मा १,४५८ र २०८१/८२ मा १,५८३ नेपाली श्रमिकले ज्यान गुमाएका थिए।
नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारी र विप्रेषण (रेमिट्यान्स) को महत्वपूर्ण योगदान रहे पनि श्रमिकको ज्यान जाने घटनामा वृद्धि भइरहँदा उनीहरूको सुरक्षा, स्वास्थ्य तथा कार्यस्थलको अवस्थाबारे पुनः गम्भीर समीक्षा आवश्यक भएको सरोकारवालाहरूले बताएका छन्।










