हेमनारायण चोकमा ब्राउन सुगरसहित तीन युवक पक्राउ, मोटरसाइकलसहित अनुसन्धान जारी
सिरहा नगरपालिका–७ स्थित हेमनारायण चोकमा प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत तीन युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोलीले नियमित सवारी तथा व्यक्तिको चेकजाँच गरिरहेका बेला सिरहा बजारबाट ट्राफिक चोकतर्फ गइरहेको स ५ प ३९९४ नम्बरको मोटरसाइकल रोकेको थियो।
प्रहरीका अनुसार जाँचका क्रममा मोटरसाइकल चालक सिरहा नगरपालिका–२ का २२ वर्षीय राजा यादवको साथबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो। घटनासँग सम्बन्धित रहेको आशंकामा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ का २० वर्षीय पहलाद कुमार यादव र २० वर्षीय सनि मुखियालाई पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका तीनै जनालाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ।










