टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
फिफा विश्वकप–२०२६ मा अस्ट्रेलियाले सुखद सुरुवात गरेको छ। क्यानडाको बिसी प्लेस स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा टर्कीलाई २–० ले पराजित गर्दै अस्ट्रेलियाले पहिलो खेलमै महत्वपूर्ण तीन अंक बटुलेको हो।
अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले समान एक–एक गोल गरे। खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो हाफमा पनि दबाब कायम राख्यो। खेलको ७५औं मिनेटमा कोनर मेटाकाल्फले अर्को गोल थपेपछि अस्ट्रेलियाको जित सुनिश्चित बनेको थियो।
बल नियन्त्रणमा टर्की केही हदसम्म प्रभावशाली देखिए पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न असफल रह्यो। खेलभर टर्कीले थुप्रै अवसर सिर्जना गरे पनि अस्ट्रेलियाको रक्षापंक्ति र गोलकिपरलाई चुनौती दिन सकेन।
यस जितसँगै समूह ‘डी’ मा अस्ट्रेलियाले तीन अंक जोडेको छ। समान अंक भए पनि गोलअन्तरका आधारमा आयोजक अमेरिका शीर्ष स्थानमा रहेको छ। टर्की र पाराग्वेले भने अंकको खाता खोल्न सकेका छैनन्।
यसअघि सम्पन्न अन्य खेलमा स्कटल्यान्डले हाइटीलाई पराजित गर्दा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलबीचको खेल बराबरीमा टुंगिएको थियो। समूह चरणअन्तर्गत आजको अन्तिम खेलमा जर्मनी र कुराकाओ आमनेसामने हुनेछन्।









