पर्सामा खेतबाट १ सय किलो गाँजा बरामद, मालिकको खोजी जारी
पर्सा — पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोक क्षेत्रमा लुकाइ राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ।
आइतबार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खेतमा लुकाइ राखिएको अवस्थामा पाँच बोरामा प्याक गरिएको करिब १ सय किलोग्राम गाँजा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बरामद गाँजा नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको छ।
हालसम्म गाँजा कसले त्यहाँ राखेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
प्रहरीले लागूऔषध ओसारपसार र भण्डारणमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ।










