‘रोल नं १’ मा विद्यार्थी–अभिभावकको आकर्षण, स्कुलले नै बुक गर्न थाले शो
नेपाली चलचित्र ‘रोल नं १’ ले प्रदर्शनको सुरुवाती चरणमै विद्यार्थी, शिक्षक र अभिभावकको सकारात्मक साथ पाएको छ। नेपाली शिक्षा प्रणाली र मूल्यांकन पद्धतिलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको निर्माण पक्षले जनाएको छ।
निर्माता विनोद पौडेलका अनुसार चलचित्र हेरेका धेरै विद्यार्थीले आफ्ना अभिभावकलाई पनि सिनेमा देखाउन पुनः हलमा आउने प्रतिक्रिया दिएका छन्। त्यस्तै अभिभावकहरूले पनि आफ्ना छोराछोरीसँगै चलचित्र हेर्नुपर्ने खालको विषयवस्तु रहेको बताइरहेका छन्।
उनका अनुसार चलचित्रले उठाएको शैक्षिक बहस र परीक्षा केन्द्रित मूल्यांकन प्रणालीबारेको प्रश्नले विद्यार्थी र अभिभावक दुवैलाई सोच्न बाध्य बनाएको छ। यही कारण चलचित्रप्रति सकारात्मक प्रतिक्रिया बढ्दै गएको उनको भनाइ छ।
दर्शकको मुखैमुखबाट फैलिएको सकारात्मक प्रतिक्रियाका कारण ‘रोल नं १’ को व्यापारमा समेत उत्साहजनक प्रभाव परेको निर्माण पक्षको दाबी छ। पछिल्लो समय विभिन्न विद्यालयहरूले समूहगत रूपमा पूरा शो नै बुकिङ गरेर विद्यार्थीलाई चलचित्र देखाउन थालेका छन्। सामाजिक सञ्जालमा पनि विद्यालयस्तरबाट गरिएको सामूहिक प्रदर्शनका तस्बिर र भिडियोहरू व्यापक रूपमा सार्वजनिक भइरहेका छन्।
निर्माण टिमका अनुसार विद्यार्थीहरूको उपस्थितिले अधिकांश शो हाउसफुल हुन थालेका छन्। दर्शकको निरन्तर साथ रहेकाले चलचित्र अझै केही समय सफल प्रदर्शनमा रहने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
‘रोल नं १’ ले हालसम्म नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको जनाइएको छ। दर्शकहरूले यसलाई विद्यार्थी, शिक्षक र अभिभावक सबैले हेर्नैपर्ने सन्देशमूलक चलचित्रका रूपमा प्रशंसा गरिरहेका छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रलाई जोन योञ्जन ले निर्देशन गरेका हुन्। चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन्।
चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने छत्रमाया गिरी र रमेश चौलागाईं सह–निर्माताका रूपमा रहेका छन्। महेश दवाडीको कथा तथा पटकथा रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन रहेको छ।










