सरकारी विज्ञापन कटौतीविरुद्ध मकवानपुरका पत्रकार आन्दोलनमा, प्रशासन कार्यालयमा धर्ना

कोल्हवी न्यूज
२०८३ जेष्ठ २९, शुक्रबार १८:०५ गते

हेटौँडामा निजी सञ्चार माध्यमलाई प्रदान गरिँदै आएको सरकारी विज्ञापन कटौती गर्ने संघीय सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नेतृत्वमा शुक्रबार बिहान आयोजित विरोध कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। देशव्यापी आन्दोलनअन्तर्गत गरिएको धर्नामा पत्रकारहरूले सरकारी निर्णयले स्वतन्त्र सञ्चार माध्यमको अस्तित्वमाथि नै चुनौती सिर्जना गरेको बताएका छन्।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, बागमती प्रदेश पत्रकार महासंघका संस्थापक अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाई, महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाललगायतको सहभागिता रहेको थियो।

महासंघले सरकारी विज्ञापन वितरणमा गरिएको कटौतीको निर्णय फिर्ता लिन माग गर्दै चरणबद्ध आन्दोलन जारी राखेको जनाएको छ। यसअघि बुधबार पनि देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूले धर्ना कार्यक्रम सञ्चालन गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*