रास्वपा बागमतीमा नेतृत्वको रस्साकस्सी, अच्युत्तम–उत्सवबीच मुख्य भिडन्त

कोल्हवी न्यूज
२०८३ जेष्ठ २९, शुक्रबार १८:०३ गते

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको पहिलो अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातेको छ। शनिबार काठमाडौंमा हुने मतदानअघि प्रदेश नेताहरूबीच प्यानलगत प्रतिस्पर्धाको तयारी र आन्तरिक समीकरण निर्माण तीव्र बनेको छ।

प्रदेश सभापति पदका लागि डा. अच्युत्तम लामिछाने, उत्सव अर्याल, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिको आकांक्षी मानिएका बदन भण्डारीले भने उम्मेदवारी नदिएपछि चुनावी समीकरणमा नयाँ मोड आएको छ।

पार्टी स्रोतका अनुसार सभापति पदमा हालका सभापति डा. लामिछाने र प्रवक्ता उत्सव अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। भण्डारीले उम्मेदवारी नदिई लामिछानेलाई समर्थन गर्ने समझदारी बनेको चर्चा छ। यसले लामिछानेको पक्ष थप बलियो बन्न सक्ने आकलन गरिएको छ।

स्रोतका अनुसार अधिवेशनपछि बन्ने पदाधिकारी टिममा भण्डारीलाई महत्वपूर्ण जिम्मेवारी दिने विषयमा पनि आन्तरिक छलफल भएको छ। हालका महामन्त्री सुरेन्द्र भट्ट र भण्डारीमध्ये एक जनालाई महामन्त्री तथा अर्कोलाई उपसभापति बनाउने गरी सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।

उपसभापति पदमा डा. रमेश ढकाल र हालकी सहमहामन्त्री राधिका तिमिल्सिना आकांक्षी छन् भने कोषाध्यक्ष मेनुका ठकुरीले पनि महामन्त्री पदमा रुचि देखाएकी छन्। यद्यपि ठकुरीले पदाधिकारीको विषय सदस्य र सभापतिको निर्वाचनपछि मात्रै टुंगो लाग्ने बताएकी छन्।

रास्वपाको विधानअनुसार पहिलो चरणमा सभापति र प्रदेश सदस्यको निर्वाचन हुनेछ। त्यसपछि निर्वाचित सदस्यहरूले पदाधिकारी चयन गर्ने प्रक्रिया अघि बढाउनेछन्। सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ। कसैले बहुमत नल्याए शीर्ष दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ।

बागमती प्रदेश समिति ६५ सदस्यीय रहनेछ। प्रदेश अधिवेशनका लागि १ हजार ३ सयभन्दा बढी प्रतिनिधि छनोट भएका थिए। प्रतिनिधिसम्बन्धी उजुरीका कारण यसअघि हेटौँडामा सुरु भएको अधिवेशन स्थगित गरी मतदान प्रक्रिया काठमाडौंमा सारिएको हो। निर्वाचन आयोगका अनुसार शनिबारको मतदान विद्युतीय माध्यमबाट हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*