एन्फामाथि छानबिन गर्न राखेपद्वारा उपसमिति गठन, सात दिनभित्र प्रतिवेदन पेश गर्ने

कोल्हवी न्यूज
२०८३ जेष्ठ २९, शुक्रबार १५:४३ गते

अखिल नेपाल फुटबल संघ मा भएका भनिएका अनियमितता र आर्थिक हिनामिनासम्बन्धी उजुरीमाथि छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद ले विशेष उपसमिति गठन गरेको छ।

शुक्रबार बसेको राखेप कार्यकारी समितिको ५९औँ बैठकले उपाध्यक्ष विशाल श्रेष्ठ को संयोजकत्वमा छानबिन उपसमिति गठन गर्ने निर्णय गरेको हो। राखेपका सदस्य सचिव रामचरित्र मेहता का अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

उपसमितिमा कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ, चार्टर्ड एकाउन्टेन्ट प्रकाश अधिकारी तथा शिक्षा तथा खेलकुद मन्त्रालयका एक प्रतिनिधि सदस्य रहनेछन्। राखेप खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानु राजा केसी लाई समितिको सचिवको जिम्मेवारी दिइएको छ।

एन्फाविरुद्ध राष्ट्रिय हितविपरीत होम गेम बिक्री गरेको, राखेपको निर्देशन अवज्ञा गरेको, अवैध भत्ता वितरण गरेको, महिला साफ प्रतियोगिता २०२४ का क्रममा होटल दररेटमा कमिसन तथा भ्रष्टाचार गरेको, स्वीकृतिबिनै वैदेशिक भ्रमण गरेको, अनुदान रकम दुरुपयोग गरेको तथा अनावश्यक नियुक्ति गरेको लगायतका आरोपसहित उजुरी परेको थियो।

त्यसैगरी विभिन्न टेन्डर प्रक्रिया कानुनअनुसार सञ्चालन नगरेको, प्रतियोगिताका मार्केटिङ, डिजिटल, प्रसारण तथा टिकटिङ अधिकार प्रदान गर्दा भ्रष्टाचार भएको आरोपसमेत उजुरीमा समावेश रहेको राखेपले जनाएको छ।

उक्त विषयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल को निर्देशनपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।

हालै मात्र राखेप उपाध्यक्ष नियुक्त भएका संयोजक विशाल श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपरसमेत हुन्। छानबिन प्रतिवेदनपछि एन्फामाथिका आरोपबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*