१५ करोड ५० लाखको बजेटसहित नारायणी रंगशालाको कायापलट हुने तयारी

कोल्हवी न्यूज
२०८३ जेष्ठ २९, शुक्रबार १५:२० गते

बीरगन्जस्थित नारायणी रंगशाला को मर्मत, पुनर्निर्माण तथा स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्षमा कुल १५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त का अनुसार खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा अन्य सम्बन्धित निकायमार्फत विभिन्न शीर्षकमा रकम छुट्याइएको हो। खेलकुद मन्त्रालयले रंगशालाको थप स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि ५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।

यस्तै, फ्लडलाइट जडान र अन्य पूर्वाधार सुधारका योजनाका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट थप ३ करोड रुपैयाँ छुट्याइएको छ। यसअघि चालु आर्थिक वर्षमा पनि रंगशाला र कभर्ड हलका लागि करिब ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

वि.सं. २०४२ सालमा निर्माण भएको नारायणी रंगशाला कुनै समय राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको प्रमुख केन्द्र मानिन्थ्यो। तर वर्षौंदेखि पर्याप्त मर्मत सम्भार नहुँदा प्यारापिट जीर्ण बन्नुका साथै मैदान र अन्य संरचनाको अवस्था समेत कमजोर बन्दै गएको थियो।

नयाँ बजेटसँगै रंगशालाको पुनर्जीवन हुने अपेक्षा गरिएको छ। स्तरोन्नति सम्पन्न भएपछि यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेल गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*