कांग्रेसको सदस्यता अध्यावधिक अभियानमा ५ लाख ३८ हजारभन्दा बढी सदस्य सहभागी

कोल्हवी न्यूज
२०८३ जेष्ठ २९, शुक्रबार ०६:५१ गते

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियानमा पाँच लाखभन्दा बढी सदस्य सहभागी भएका छन्। पार्टीले सञ्चालन गरेको अभियानअन्तर्गत हालसम्म ५ लाख ३८ हजार ६ सय २२ जनाले एनसीआईडी प्राप्त गरी आफ्नो सदस्यता अध्यावधिक गराएका छन्।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार अध्यावधिकका लागि योग्य ठहरिएका ७ लाख ८२ हजार २ सय ९ सदस्यमध्ये उक्त सङ्ख्याका सदस्यले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरी प्रक्रिया पूरा गरेका हुन्।

त्यसैगरी, १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अध्यावधिक फाराम बुझाएर सदस्यता नवीकरण प्रक्रियालाई अगाडि बढाएका छन्। पार्टीले अध्यावधिक अभियानप्रति देशभरका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको जनाएको छ।

कांग्रेसले इन्टरनेट पहुँच सीमित रहेका हिमाली तथा दुर्गम जिल्लाका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा सदस्यता अध्यावधिक कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिएको छ।

पार्टीले क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समयसीमा गएराति सम्पन्न भएको जनाएको छ। यद्यपि, नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया भने अर्को सूचना जारी नभएसम्म निरन्तर खुला रहने स्पष्ट पारेको छ।

महाधिवेशनको तयारी र पार्टी संगठन सुदृढीकरणको महत्वपूर्ण आधार मानिएको सदस्यता व्यवस्थापन अभियानलाई कांग्रेसले विशेष प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*