पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा
नेपालमा हाल पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको संयुक्त प्रभाव सक्रिय रहेकाले देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा हिमाली–पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी प्रदेश तथा देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बदली कायम रहनेछ भने मधेश प्रदेशलगायत तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।
मौसम महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन, कृषि गतिविधि, सडक यातायात तथा हवाई सेवामा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने, कृषि कार्यमा संलग्न र खुला स्थानमा रहने नागरिकलाई मौसमको नियमित जानकारी लिएर सावधानी अपनाउन सुझाव दिइएको छ।











