विश्वकपको उद्घाटन खेलमा मेक्सिको विजयी, दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित

कोल्हवी न्यूज
२०८३ जेष्ठ २९, शुक्रबार ०६:४४ गते

मेक्सिको सिटी । फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकामाथि सहज जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।

मेक्सिको सिटीस्थित रंगशालामा बिहीबार सम्पन्न खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको हो।

घरेलु टोलीलाई जित दिलाउन जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। खेलको नवौँ मिनेटमै इरिक लिराको पासमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुआतमै दक्षिण अफ्रिकाले ठूलो झट्का बेहोर्नुपर्‍यो। ४९औँ मिनेटमा सेफेलो सिथोलले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भयो। संख्यात्मक रूपमा कमजोर बनेको दक्षिण अफ्रिकामाथि मेक्सिकोले दबाब बढाउँदै लग्यो।

यसैक्रममा ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। खेलको अन्त्यतिर ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा झरेको थियो।

यता, अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड पाएर मैदान छाडे। उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाएको दृश्यले खेललाई थप चर्चित बनाएको छ।

जितसँगै मेक्सिको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। यही समूहअन्तर्गत अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुने तालिका छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*