एसईई नतिजामा गम्भीर त्रुटि: पुनर्योगपछि ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा फेरियो
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन तथा मूल्यांकन प्रक्रियामा देखिएको त्रुटिले परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। पुनर्योग (रिचेकिङ) प्रक्रियापछि ५ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन भएको तथ्य सार्वजनिक भएपछि शिक्षक र परीक्षा व्यवस्थापन पक्षको लापरबाही उजागर भएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजाप्रति असन्तुष्ट भई पुनर्योगका लागि आवेदन दिएका हजारौं विद्यार्थीमध्ये उल्लेख्य संख्यामा प्राप्तांक गणना, अंक प्रविष्टि र नतिजा प्रकाशनका क्रममा त्रुटि भएको पाइएको छ।
पुनर्योगपछि केही विद्यार्थीको जीपीएमा उल्लेख्य सुधार भएको छ। प्रारम्भिक नतिजामा कम जीपीए प्राप्त गरेका कतिपय विद्यार्थीले पुनर्योगपछि ४.० जीपीएसम्म हासिल गरेका छन् भने ‘नन–ग्रेडेड’ (एनजी) देखाइएका केही विद्यार्थी उत्तीर्ण भएको समेत पुष्टि भएको छ।
परीक्षा बोर्डका अनुसार अधिकांश त्रुटि उत्तरपुस्तिकाको अंक जोड्ने, कभर पृष्ठमा अंक सार्ने तथा कम्प्युटर प्रणालीमा विवरण प्रविष्ट गर्ने क्रममा भएका हुन्। कतिपय अवस्थामा ७० अंकलाई ७ लेखिएको, पूर्ण अंक प्रविष्ट गर्न छुटेको वा प्राप्त अंकलाई शून्य देखाइएको जस्ता गम्भीर कमजोरी भेटिएका छन्।
हालसम्म पुनर्योग भएका २७ हजार ६ सय ५४ विद्यार्थीमध्ये १ हजार ५ सय ५९ जनाको नतिजा परिवर्तन भइसकेको छ, जुन कुल पुनर्योगको ५.६३ प्रतिशत हो। अघिल्ला वर्षको तुलनामा यस वर्ष त्रुटिको दर बढेको देखिएको बोर्डले जनाएको छ।
यसैबीच, एक हजारभन्दा बढी विद्यार्थीका उत्तरपुस्तिका तत्काल फेला नपर्दा पुनर्योग नतिजा प्रकाशनमा समेत ढिलाइ भएको छ। परीक्षा केन्द्र परिवर्तन, उत्तरपुस्तिका अन्य केन्द्रका पोकामा पर्नु तथा अभिलेखीकरणमा कमजोरी हुनु यसका प्रमुख कारण रहेको बताइएको छ।
यस वर्ष विद्यालयमै उत्तरपुस्तिका परीक्षण गरिएकाले पुनर्योगका लागि आवेदन दिने विद्यार्थीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्षको तुलनामा यस वर्ष झण्डै ३४ हजार विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका छन्।
शिक्षकद्वारा गरिएको मूल्यांकनदेखि कम्प्युटरमा अंक प्रविष्टिसम्म भएका त्रुटिले विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएको परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। शिक्षा क्षेत्रका सरोकारवालाले मूल्यांकन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र त्रुटिरहित बनाउन तत्काल सुधार आवश्यक रहेको बताएका छन्।











