चार दिनपछि खुल्यो सुन्दरपुर ‘हिट एन्ड रन’ दुर्घटनाको रहस्य, टिपर चालक पक्राउ
रौतहटको गढीमाई नगरपालिका–४ स्थित सुन्दरपुर चोकमा साइकल यात्रीको ज्यान जाने गरी भएको ‘हिट एन्ड रन’ दुर्घटनाको रहस्य चार दिनपछि खुलेको छ। दुर्घटनापछि फरार रहेका टिपर चालक पक्राउ परेपछि घटनाको वास्तविकता सार्वजनिक भएको प्रहरीले जनाएको छ।
गत जेठ २४ गते राति करिब १ बजे गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक सवारीसहित फरार भएका थिए।
घटनापछि स्थानीयवासी र मृतकका आफन्तले दोषी चालक तथा सवारी साधनलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै गौर–चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध गरेका थिए। प्रहरीको आश्वासनपछि आन्दोलन स्थगित गरिएको थियो।
घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय गरुडाले १९ वटा टिपर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अनुसन्धानकै क्रममा बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय चालक अब्दुल एजाज पक्राउ परेका हुन्।
प्रहरीका अनुसार एजाजले आफूले चलाएको टिपरबाट साइकल यात्रीलाई ठक्कर दिएको स्वीकार गरेका छन्। उनी शिवम् क्रसर उद्योगबाट ढुंगा बोकेर गरुडातर्फ जाँदै गर्दा घर फर्किरहेका सहनी दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका चालकविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











