बिमा रकम र धितोको सुन पचाउन आफ्नै पसलमा चोरीको नाटक, सुनचाँदी व्यवसायी पक्राउ

कोल्हवी न्यूज
२०८३ जेष्ठ २८, बिहीबार ०७:२९ गते

बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरी भएको नाटक रचेर बिमा दाबी तथा ग्राहकले धितो राखेको सुनचाँदी हिनामिना गर्ने योजनामा संलग्न रहेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलका सञ्चालक बुटवल–३ पुलचोक निवासी ४१ वर्षीय दीपक विकलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार जेठ १७ गते करिब १ करोड ४६ लाख ९४ हजार ७०० रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको भनिएको घटनाको अनुसन्धानका क्रममा स्वयं पसल सञ्चालक विककै संलग्नता देखिएको हो।

प्रहरी अनुसन्धानअनुसार विक जेठ १६ गते पोखरा गएको बताइए पनि सोही साँझ बुटवल फर्किएका थिए। उनले पसलका कर्मचारी नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनापछि विभिन्न स्थानका सिसीटिभी फुटेज विश्लेषण गर्दा विक रातिको समयमा पसलमा प्रवेश गरी करिब दुई घण्टापछि बाहिरिएको देखिएको प्रहरीले जनाएको छ। साथै, उनी तिनाउ पुल हुँदै बुटवल–२ तर्फ गएको दृश्य पनि सिसीटिभीमा कैद भएको पाइएको छ।

प्रहरीले विकको घरमा छापा मारेर सुनका बाला, सिक्री, औँठी, झुम्का, कानपासा, टपलगायतका गरगहना तथा चाँदीका विभिन्न सामग्री बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक विश्वासघात मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*