हङकङलाई हराउँदै नेपाल एसियन गेम्स क्रिकेट छनोटको च्याम्पियन
नेपालले एसियन गेम्स् क्रिकेट छनोटको उपाधि जितेको छ ।
सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमाबार भएको फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस विधिमार्फत १९ रनले पराजित गर्दै उपाधि जितेको हो । यससँगै नेपाल एसियन गेम्समा च्याम्पियनका रूपमा २० औं संस्करणको एसियन गेम्सका लागि छनोट भएको छ । हङकङ उपविजेताका रूपमा छनोट भएको छ । नेपाल लगातार दोस्रोपटक एसियन गेम्समा छनोट भएको हो ।
१८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा ११४ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको थियो । त्यसअघि, नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेल्दै ४० बलमा ६५ रनको योगदान गरे । आसिफ शेख गोल्डेन डकआउट भए । रोहित कुमार पौडेलले नटआउट ३५ रन जोडे । कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा नटआउट रहे ।
हङकङका लागि आयुष शुक्ला र एहेसान खानले १–१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको हङकङले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा १८८ रन बनाएको थियो ।
हङकङका लागि अन्शुमन रथले सर्वाधिक ८० र शाहिद वसिफले ५५ रन बनाए । नेपालका लागि शेर मल्लले ४, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए ।
समूह विजेता बन्दै नेपाल र हङकङले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका थिए । सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेट र हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।











