अब प्रदेशमै पाइने भयो निजामती कर्मचारी अस्पतालको सुविधा, भरतपुर र नारायणी अस्पतालबाट सेवा सुरु

कोल्हवी न्यूज
२०८३ जेष्ठ २५, सोमबार ०६:४० गते

काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा प्रदेशस्तरमै विस्तार गर्न थालेको छ। यससँगै काठमाडौं बाहिर कार्यरत निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले आफ्नै प्रदेशबाट सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने भएका छन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले निजामती कर्मचारी अस्पतालको सेवा विकेन्द्रीकरण गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूसँग सहकार्य सुरु गरेको हो। मन्त्रालयका अनुसार पहिलो चरणमा नारायणी अस्पतालभरतपुर अस्पताल मार्फत सेवा उपलब्ध गराइनेछ।

सामान्य प्रशासन मन्त्री प्रतिभा रावल का अनुसार काठमाडौँ उपत्यकाबाहिर बसोबास गर्ने कर्मचारीलाई सहज पहुँचमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।

आइतबार दुई अस्पतालसँग औपचारिक सम्झौता भएसँगै सोमबारदेखि सेवा सञ्चालनमा आउनेछ। सेवा लिनका लागि निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी वा आश्रित परिवारसँग निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र अनिवार्य हुने मन्त्रालयले जनाएको छ।

हाल मधेस र बागमती प्रदेशमा सेवा विस्तार गरिएको भए पनि अन्य प्रदेशका अस्पतालहरूको सूचीकरण प्रक्रिया पूरा भइसकेको मन्त्रालयको भनाइ छ। आवश्यक तयारी सम्पन्न भएपछि देशभरका प्रदेश अस्पतालबाट निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको उपचार सेवा विस्तार गरिनेछ।

सरकारको यो कदमले स्वास्थ्य सेवामा पहुँच बढाउनुका साथै कर्मचारीहरूको समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*