लेयर्स कुखुरापालक सङ्घले बढायो अण्डाको समर्थन मूल्य

कोल्हवी न्यूज
२०८३ जेष्ठ २३, शनिबार ०६:५५ गते

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, सुझाव र सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ मूल्य निर्धारण गरिएको हो।

नयाँ मूल्यअनुसार एक्सएल अण्डाको प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ। यससँगै खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।

सङ्घले व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव र किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको बताए।

पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य उल्लेखनीय रूपमा बढेको छ। वैशाख २४ गते एक्सएल अण्डाको प्रतिक्रेट ४६५ रुपैयाँ रहेकामा हाल ५६० रुपैयाँ पुगेको छ, जुन करिब २० प्रतिशतले बढी हो। यसैगरी ठूलो अण्डाको मूल्य ४९० रुपैयाँबाट ५४५ रुपैयाँ, मिडियम अण्डाको ४०० रुपैयाँबाट ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० रुपैयाँबाट ३ हजार रुपैयाँ पुगेको छ।

सङ्घका अनुसार पछिल्ला साताहरूमा अण्डा उत्पादन घट्नुका साथै बजार माग बढ्दा मूल्यमा सुधार आएको हो। दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै जाँदा मूल्य समायोजन अपरिहार्य बनेको अध्यक्ष पोखरेलले बताए।

उनका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पुगेको छ। नयाँ मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन्। लामो समयपछि बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको उनको भनाइ छ।

नेपालमा पर्यटक आगमन वृद्धि हुनु, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुले पनि मूल्य वृद्धिमा सहयोग पुगेको सङ्घले जनाएको छ।

यद्यपि उत्पादन लागत नियन्त्रण, बजार व्यवस्थापन तथा नीतिगत सहयोगका लागि सरकारी निकायको भूमिका आवश्यक रहेको अध्यक्ष पोखरेलले बताए। उत्पादन लागत घटाउने र बजारलाई व्यवस्थित बनाउने उपाय अपनाउन सके हालको मूल्य अवस्था कायम रहन सक्ने उनको विश्वास छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*