बीरगन्जका बजारमा कार्बाइटले पकाइएका आँपको बिगबिगी, उपभोक्ता स्वास्थ्य जोखिममा

कोल्हवी न्यूज
२०८३ जेष्ठ २२, शुक्रबार १८:२२ गते

वीरगन्ज । वीरगन्जसहित तराईका विभिन्न बजारमा प्रतिबन्धित रसायन कार्बाइट प्रयोग गरी कृत्रिम रूपमा पकाइएका आँप खुलेआम बिक्री भइरहेको पाइएको छ। मानव स्वास्थ्यका लागि हानिकारक मानिने यस्तो रसायन प्रयोग भएका आँप बजारमा व्यापक रूपमा पाइएपछि उपभोक्ताहरू चिन्तित बनेका छन्।

उपभोक्ताहरूका अनुसार वीरगन्जका साथै कलैया, जितपुर–सिमरा र पोखरिया क्षेत्रका बजारहरूमा समेत कार्बाइट प्रयोग गरेर पकाइएका आँप बिक्री भइरहेका छन्। प्राकृतिक रूपमा पाक्न समय लाग्ने आँपलाई व्यापारीहरूले गोदाममा राखी रसायन प्रयोगमार्फत छिट्टै पहेंलो बनाएर बजारमा पठाउने गरेको आरोप छ।

व्यापारीहरूले भारतका विभिन्न राज्य तथा पूर्वी नेपालबाट ल्याइएका काँचो आँप सस्तो मूल्यमा खरिद गरी कार्बाइट प्रयोगपछि दोब्बरभन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको बताइएको छ। हाल बजारमा यस्ता आँप प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको उपभोक्ताहरूले बताएका छन्।

फलफूल व्यवसायीहरूका अनुसार सिजनको सुरुवातमा भारतका गोवा, केरला, मद्रास र आन्ध्र प्रदेशलगायत क्षेत्रबाट आँप आयात हुने गर्छ भने असार लागेपछि पूर्वी तराईका जिल्लाबाट समेत बजारमा आँप आपूर्ति हुन थाल्छ।

स्वास्थ्य विज्ञहरूले कार्बाइट प्रयोग गरी पकाइएका फलफूल सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चेतावनी दिएका छन्। नारायणी अस्पतालका वरिष्ठ चिकित्सक उदयनारायण सिंह का अनुसार यस्ता फलफूलको सेवनले टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, पाचन प्रणाली प्रभावित हुने तथा दीर्घकालीन रूपमा अन्य स्वास्थ्य जटिलता समेत निम्त्याउन सक्छ।

खाद्य ऐन २०२३ अनुसार कार्बाइट प्रयोग गरेर फलफूल पकाउने कार्य प्रतिबन्धित छ। कानुनी व्यवस्थाअनुसार यस्तो कार्यमा संलग्न व्यक्तिलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ।

तर प्रतिबन्धित रसायन प्रयोग भएका आँप बजारमा खुलेआम बिक्री भइरहे पनि सम्बन्धित निकायको प्रभावकारी अनुगमन नदेखिएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले बजार अनुगमनलाई तीव्र बनाउँदै दोषी व्यवसायीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

फलफूलको सिजन सुरु भएसँगै कृत्रिम रूपमा पकाइएका तथा विषादीयुक्त फलफूलको बिक्री बढ्ने भएकाले उपभोक्ताले खरिद गर्दा विशेष सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*