उखु किसानको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन

कोल्हवी न्यूज
२०८३ जेष्ठ २२, शुक्रबार १८:१७ गते

मलंगवा । उखु किसानहरूको लामो समयदेखि रोकिएको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन गरिएको छ। किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा शुक्रबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराइएको हो।

सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा प्रत्याशी अमनिश कुमार यादव, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव तथा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाको नेतृत्वमा भएको प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले उखु बिक्री गरेबापत उद्योगहरूबाट पाउनुपर्ने रकम वर्षौंदेखि भुक्तानी नहुँदा किसानहरू आर्थिक संकटमा परेको बताएका थिए। उनीहरूले उत्पादन लागत निरन्तर बढिरहेको अवस्थामा पनि आफ्नो पसिनाको मूल्य नपाउनु दुःखद र अन्यायपूर्ण भएको धारणा राखे।

जिल्ला प्रशासन कार्यालयसम्म पुगेका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै किसानको बक्यौता रकम यथाशीघ्र उपलब्ध गराउन माग गरेका थिए। उनीहरूले समयमै भुक्तानी नहुँदा किसानहरू ऋणको भार, आर्थिक अभाव तथा दैनिक जीवनयापनका समस्यासँग जुध्न बाध्य भएको बताएका छन्।

प्रदर्शनकारीहरूले असार मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। आवश्यक परे जिल्लादेखि केन्द्रसम्म दबाबमूलक आन्दोलन सञ्चालन गरिने र किसानको हक सुनिश्चित नभएसम्म संघर्ष जारी रहने उनीहरूको भनाइ छ।

सर्लाहीसहित मधेशका विभिन्न जिल्लाका उखु किसानहरू लामो समयदेखि उद्योगहरूबाट पाउनुपर्ने रकमको प्रतीक्षामा छन्। पटक–पटक आन्दोलन र दबाबका कार्यक्रम भए पनि समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*