सम्पत्ति शुद्धीकरण आरोपमा टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

कोल्हवी न्यूज
२०८३ जेष्ठ २२, शुक्रबार ०७:४५ गते

टिकटकर तुल्सा अधिकारीलाई जिल्ला अदालत ललितपुरले थुनामा पठाउन आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण तथा आपराधिक लाभसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

रेडकर्नर नोटिसका आधारमा थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई प्रहरीले जेठ १८ गते नेपाल ल्याएको थियो। त्यसपछि गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध देखाउन खोजेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

उजुरीकर्ता कुमार चिमोरियाका अनुसार २०७५ सालमा अधिकारीसँग चिनजान भएपछि उनले विभिन्न बहाना र धम्की दिएर रकम असुलेकी थिइन्। चिमोरियाले सम्बन्ध सार्वजनिक गर्ने र बलात्कार मुद्दा हाल्ने धम्की दिँदै अधिकारीले आफूबाट लाखौं रुपैयाँ लिएको दाबी गरेका छन्।

अनुसन्धानका क्रममा प्रहरीले अधिकारीको कम्पनी तथा बैंकिङ कारोबारको विवरण पनि अध्ययन गरेको थियो। प्रहरीका अनुसार तुल्सा कलेक्सन नामक कम्पनीको कारोबार सीमित देखिए पनि अधिकारीको व्यक्तिगत बैंक खाताबाट करिब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको भेटिएको थियो।

अनुसन्धान निकायले वैदेशिक भ्रमण, खर्च तथा बैंक कारोबारलाई पुष्टि गर्ने वैधानिक आयस्रोत नदेखिएको भन्दै अधिकारीले आपराधिक लाभबाट २१ करोड १२ लाख रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको आरोप लगाएको छ।

प्रहरीले उनको कम्पनीबाट विभिन्न बहुमूल्य पत्थर, मोती, मुगा तथा गरगहना बरामद गरेको जनाएको छ। साथै बैंक लकरमा राखिएको करिब ८४ लाख ५० हजार रुपैयाँ बराबरको सुनका गहना पनि फेला परेको दाबी गरिएको छ।

यता अदालतमा बयानका क्रममा अधिकारीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आफ्नो सम्पत्तिको स्रोत व्यवसायिक कारोबार रहेको जिकिर गरेकी छन्।

अदालतले पेश भएका प्रमाण, बैंक खाताको विवरण तथा कारोबारका आधारमा अधिकारीमाथि लागेको आरोपको थप अनुसन्धान आवश्यक देखिएको निष्कर्ष निकाल्दै थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालतको आदेशविरुद्ध अधिकारीले उच्च अदालत पाटनमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*