ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चालक गम्भीर घाइते
नवलपुर, २२ जेठ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना ५ ख १७५७ नम्बरको ट्रकमा ग १० प २२८७ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ निवासी ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए। दुर्घटनापछि गम्भीर घाइते भएका गुरौको उपचारका क्रममा मृत्यु भएको हो।
यस्तै, मोटरसाइकल चालक भारतका २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










