दुई दिनदेखि सम्पर्कविहीन वृद्धको दुधौरा खोलानजिक शव फेला

कोल्हवी न्यूज
२०८३ जेष्ठ २२, शुक्रबार ०७:१४ गते

बारा, २१ जेठ — बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोला क्षेत्रबाट एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

अमलेखगञ्ज निवासी ८२ वर्षीय कृष्ण बलको शव दुधौरा खोलाको झोलुङ्गे पुल नजिक रहेको काँसघारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बिहीबार बिहान स्थानीयले घाँसे मैदानमा शव देखेपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा खबर गरेका थिए। सूचनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया सम्पन्न गरेको थियो।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। परीक्षण सम्पन्न भएपछि मृतकका छोरा सूर्य लामाले शव बुझेर अन्त्येष्टिका लागि लगेका छन्।

प्रहरीका अनुसार कृष्ण बल पछिल्ला दुई दिनदेखि परिवारको सम्पर्कमा थिएनन्। उनी उच्च रक्तचापको समस्याबाट पीडित रहेको परिवारले जनाएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*