२४ घण्टामा विपद्का घटना : पाँच जनाको मृत्यु, ११ घाइते

कोल्हवी न्यूज
२०८३ जेष्ठ २१, बिहीबार १८:१३ गते

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्जन्य घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु र रोल्पामा भएका घटनामा पाँच जनाले ज्यान गुमाएका हुन्। प्राधिकरणकी प्रवक्ता शान्ति महत का अनुसार मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विभिन्न विपद्का घटनामा ११ जना घाइते भएका छन्।

विवरणअनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पदंशका कारण एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ। यस्तै, गङ्गादेव गाउँपालिका को रातमाटा क्षेत्रमा खहरे भेलले बगाउँदा दुई बालकको ज्यान गएको छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा देशभर २५ वटा विपद्जन्य घटना दर्ता भएका छन्। ती घटनाबाट ६३ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको जनाइएको छ।

मनसुन नजिकिँदै जाँदा सर्पदंश, बाढी, पहिरो तथा चट्याङलगायतका जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*