भुटानविरुद्ध दोस्रो जितको खोजीमा नेपाल, आज बिहान प्रतिस्पर्धा हुँदै

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको पहिलो खेलमा कतारलाई पराजित गर्दै विजयी सुरुआत गरेको नेपाल लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रन लागेको हो।
नेपाल र भुटानबीचको खेल बिहीबार बिहान ७ः१५ बजे मलेसियास्थित Tunku Jaafar Cricket Oval मा हुनेछ।
बुधबार सम्पन्न पहिलो खेलमा कतारले दिएको ७७ रनको सामान्य लक्ष्य नेपालले १०.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नेपालले आठ विकेटको सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो।
समूह चरणअन्तर्गत नेपालको अर्को खेल हङकङसँग हुनेछ। नेपाल र हङकङबीचको प्रतिस्पर्धा शनिबार हुने तालिका रहेको छ।
पहिलो खेलको आत्मविश्वासलाई निरन्तरता दिँदै नेपाल आज भुटानविरुद्ध पनि जित निकाल्ने लक्ष्यमा रहेको छ।










