१० महिनामा वीरगन्जबाट रु २० अर्बभन्दा बढीको खाद्यान्न आयात
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा खाद्यान्न आयात घटेको छ। यस अवधिमा रु २० अर्ब ७९ करोड बराबरको खाद्यान्न आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातमा १५ प्रतिशत अर्थात् रु ३ अर्ब ८७ करोडले गिरावट आएको हो। गत वर्ष यही अवधिमा रु २४ अर्ब ६६ करोड बराबरको खाद्यान्न आयात भएको थियो।
चालु वर्षमा वीरगन्ज नाका हुँदै सबैभन्दा धेरै धान आयात भएको छ, जसको मूल्य रु १० अर्ब ९४ करोड रहेको छ। त्यसैगरी मकै रु ५ अर्ब ३१ करोड र चामल रु २ अर्ब ८५ करोड बराबर आयात भएको छ।
यसका साथै रु ५९ करोड मूल्यको माल्ट र रु ३३ करोड बराबरको फापर, कोदो लगायत अन्य खाद्यान्न पनि आयात भएको कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार १६ थरी खाद्यान्न वस्तुहरू यस नाका हुँदै आयात भएका छन्। आयातमा आएको गिरावटको कारणबारे भने विस्तृत विश्लेषण हुन बाँकी रहेको जनाइएको छ।











