बंगलादेशविरुद्ध आज नेपालको ‘महासेमिफाइनल’, इतिहास रच्ने अवसर
दक्षिण एसियाली महिला फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज सेमिफाइनलमा दुईपटकको डिफेन्डिङ च्याम्पियन बंगलादेश सँग प्रतिस्पर्धा गर्दैछ। भारतको जवाहरलाल नेहरू स्टेडियममा हुने यो खेल नेपाली महिला फुटबल इतिहासकै महत्वपूर्ण खेलमध्ये एक मानिएको छ।
साफ च्याम्पियनसिपमा नेपाल सन् २०१६ मा एकपटक मात्र सेमिफाइनलबाट बाहिरिएको थियो भने अन्य संस्करणहरूमा उपविजेतामै सीमित रहँदै आएको छ। हालसम्म नेपालले उपाधि जित्न नसके पनि छ पटक फाइनल खेलेर दक्षिण एसियाको बलियो टोलीका रूपमा आफूलाई स्थापित गरेको छ।
यसपटक फाइनलमा पुग्न सफल भए नेपालसँग पहिलो पटक अन्तर्राष्ट्रिय ठूलो उपाधि जित्ने सम्भावना जीवित रहनेछ। त्यसैले पनि आजको सेमिफाइनल नेपाली महिला फुटबलका लागि विशेष महत्वको मानिएको छ।
खेलअघि प्रतिक्रिया दिँदै नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपाने ले यो खेल नेपाली महिला फुटबलकै लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
बेम्बोलिम एथलेटिक स्पोर्ट्स ग्राउन्डमा भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “नेपाल महिला फुटबलका लागि यो सेमिफाइनल ठूलो मात्रै होइन, निकै ठूलो खेल हो। टोली शारीरिक र मानसिक रूपमा पूर्ण तयार छ। खेललाई लिएर हामी उत्साहित छौँ।”
नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा पछिल्ला वर्षहरूमा निकै प्रतिस्पर्धात्मक बन्दै आएको छ। उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा रहेको बंगलादेश र पहिलो साफ उपाधिको खोजीमा रहेको नेपालबीचको आजको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ।











