मकवानपुर बगुवा खोलाको पुलमा ट्रक दुर्घटना, चालकको मृत्यु
मकवानपुर । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरस्थित निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका लागि सामग्री बोकेर गइरहेको ट्रक गएराति दुर्घटनामा परेको हो।
दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–३ निवासी ३० वर्षीय दलबहादुर बर्तौलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक खोलामा खसेर डुबेको थियो।
प्रहरीका अनुसार यान्त्रिक उपकरणको सहायताले ट्रकलाई गएराति नै खोलाबाट निकालिएको थियो। चालक बर्तौलाको शव ट्रकको चालक सिटमै फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए।
ट्रकका सहचालक भने दुर्घटना हुनुअघि नै सवारीबाट हामफाल्न सफल भएकाले सकुशल रहेका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










