‘जिरो डिग्री’को टिजर सार्वजनिक, विजय बराल फरक अवतारमा
काठमाडौँ, १४ जेठ — पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा कलाकारलाई विभिन्न उपनाम र ट्याग दिने चलन बढिरहेका बेला अब विजय बराल पनि नयाँ पहिचानसहित चर्चामा आएका छन्। नयाँ फिल्म जिरो डिग्री मा उनलाई ‘नेचुरल स्टार’को ट्याग दिइएको छ। बिहीबार सार्वजनिक गरिएको फिल्मको टिजरमा उक्त ट्याग प्रयोग गरिएको देखिन्छ।
फिल्म पूर्णबहादुरको सारङ्गी को सफलतापछि विजयलाई दर्शकमाझ ‘नेचुरल स्टार’ भनेर सम्बोधन गर्न थालिएको थियो।
सार्वजनिक टिजरमा विजय वडा अध्यक्ष पुन्य चौलागाईँको भूमिकामा प्रस्तुत भएका छन्। टिजरले उनलाई गाउँको चलाख, चतुर र प्रभावशाली जनप्रतिनिधिका रूपमा चित्रण गरेको छ। एक दृश्यमा उनी कार्यालयभित्र घुस लिँदै देखिन्छन् भने अर्को दृश्यमा पिठ्यूँमा दुईवटा पंखा बाँधेर घोडामा सवार अवस्थामा देखिन्छन्। उनको हाउभाउ र गेटअपले हास्यव्यंग्यात्मक स्वाद दिएको अनुमान गर्न सकिन्छ।
टिजरको अर्को दृश्यले भने दुर्गम गाउँको कठिन जीवनशैली झल्काएको छ। ठूलो काठको बाकसभरि थकित मुद्रामा बसेका स्थानीय र घोडामा चढेका विजयको दृश्यले ग्रामीण भेगमा सडक अभावले सिर्जना गर्ने समस्या र हुनेखाने वर्गको रवाफलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको संकेत गर्छ।
फिल्मलाई साजन काफ्ले र आकाश बराल ले संयुक्त रूपमा निर्देशन गरेका हुन्। यसअघि उनीहरूले बेहुली फ्रम मेघौली निर्देशन गरेका थिए।
फिल्ममा विजयसँगै सनिशा भट्टराई, प्रकाश घिमिरे, बसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र राजन भुसाल लगायत कलाकारहरूको अभिनय रहेको छ।
मेघौली फिल्म्स को प्रस्तुतिमा बनेको फिल्ममा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, शैलेस श्रेष्ठको साउन्ड डिजाइन तथा अङ्कित बाबु अधिकारीको सङ्गीत रहेको छ। फिल्मलाई तिहारको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिएको भए पनि औपचारिक प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।










