चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–१ पौराई निवासी २६ वर्षीय शेख गुलाम रहेका छन् ।
राजविराजबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको ना २५ प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गुलामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल सुरक्षा बेस सन्तपुरबाट सहायक प्रहरी नायव निरीक्षक रामकुमार अधिकारीको नेतृत्वमा ९ जना र जिल्ला ट्राफिक कार्यालयबाट ट्राफिक प्रमुख राजेन्द्र थापा मगरको नेतृत्वमा १० जनाको टोली उद्धारमा खटिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार दुर्घटना चन्द्रपुर नगरपालिका अन्तर्गत जुडिबेला क्षेत्रमा, पूर्व–पश्चिम लोकमार्गको पूर्वी लच्का नजिक भएको हो ।
प्रहरीले बस चालक मकवानपुर गढी गाउँपालिका–३ निवासी ५९ वर्षीय लक्ष्मीभक्त ओझालाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय चपुरको नियन्त्रणमा रहेका छन् भने मृतकको शव सरकारी अस्पताल चन्द्रनिगाहपुरमा राखिएको प्रहरीले जनाएको छ ।










