हुरीले घर भत्किँदा रौतहटमा महिलाको मृत्यु
२०८३ जेष्ठ १२, मंगलवार १२:४८ गते
रौतहटमा सोमबार साँझ आएको शक्तिशाली हावाहुरीले एक कच्ची घर भत्किँदा एक महिलाको ज्यान गएको छ।
मृतक वृन्दावन नगरपालिका–७, धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवी हुन्।
प्रहरीका अनुसार हुरीका कारण उनका श्रीमान् रायको टायलको छानो र बाँसको बारले बनेको एकतले घर अचानक भत्किएको थियो। घर भत्किँदा फूलकुमारी गम्भीर रूपमा घाइते भएकी थिइन्।
उपचारका लागि उनलाई गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।










