बालबालिकाको मानसिक स्वास्थ्यबारे मुद्दामा मेटाको सम्झौता
सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्स ले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पुर्याएको आरोप लागेको एक महत्वपूर्ण मुद्दामा सम्झौता गरेको छ। अमेरिकाको केन्टकी राज्यस्थित एक स्कुल डिस्ट्रिक्टले दायर गरेको उक्त मुद्दामा सुनुवाइ सुरु हुनुअघि नै कम्पनी र स्कुलबीच सहमति भएको हो।
समाचार एजेन्सी एपीका अनुसार मुद्दामा मेटाका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बालबालिका र किशोरकिशोरीलाई लामो समयसम्म प्रयोग गरिरहने गरी डिजाइन गरिएको आरोप लगाइएको थियो। त्यसका कारण विद्यार्थीहरूमा चिन्ता, डिप्रेसन र आत्महानिजस्ता मानसिक समस्या बढेको दाबी गरिएको थियो।
मेटाले भने मुद्दा आपसी समझदारीमा टुंगिएको जनाएको छ। कम्पनीले किशोर प्रयोगकर्ताको सुरक्षाका लागि “टिन अकाउन्ट्स” र अभिभावकीय नियन्त्रणसम्बन्धी सुविधा विकास गरिरहेको दाबी गरेको छ।
स्कुल डिस्ट्रिक्टले मानसिक स्वास्थ्य सेवामा बढेको खर्च र १५ वर्षे सुधार कार्यक्रम सञ्चालनका लागि ६० मिलियन डलरभन्दा बढी क्षतिपूर्ति माग गरेको थियो। साथै, सामाजिक सञ्जाल प्लेटफर्महरूको डिजाइन परिवर्तन गर्न अदालतको आदेश माग गरिएको थियो। तर सम्झौताका आर्थिक विवरण भने सार्वजनिक गरिएको छैन।
सामाजिक सञ्जाल कम्पनीविरुद्ध बढ्दो कानुनी दबाब
अमेरिकाभर करिब १२ सय स्कुल डिस्ट्रिक्टहरूले मेटा प्लेटफर्म्स, टिकटक, स्न्याप इन्क र युट्युब विरुद्ध छुट्टाछुट्टै मुद्दा दायर गरिसकेका छन्। ती मुद्दाहरूमा सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिकामा मानसिक स्वास्थ्य संकट बढाएको आरोप लगाइएको छ।
यसअघि टिकटक, स्न्याप र युट्युबले पनि सोही केन्टकी स्कुल डिस्ट्रिक्टसँग सम्झौता गरिसकेका थिए।
यो प्रकरण सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध विश्वभर बढ्दै गएको कानुनी दबाबको हिस्सा मानिएको छ। मार्च महिनामा लस एन्जलसमा भएको एक मुद्दामा मेटा र युट्युबलाई जानाजान लत लाग्ने डिजाइन बनाएको तथा पर्याप्त चेतावनी नदिएको भन्दै ६ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिइएको थियो।
त्यसैगरी न्यू मेक्सिकोको अर्को मुद्दामा मेटा प्लेटफर्म्स लाई ३७५ मिलियन डलर जरिवाना गरिएको थियो। उक्त मुद्दामा कम्पनीले आफ्ना प्लेटफर्महरूको सुरक्षाबारे प्रयोगकर्तालाई भ्रममा पारेको आरोप प्रमाणित भएको बताइएको छ।
विशेषज्ञहरूले पछिल्ला निर्णयहरूलाई युवा प्रयोगकर्तामाथि पर्ने असरका लागि सामाजिक सञ्जाल कम्पनीहरूलाई कानुनी रूपमा जिम्मेवार ठहर गर्ने महत्वपूर्ण कदमका रूपमा विश्लेषण गरेका छन्।










