पर्सा राष्ट्रिय निकुञ्जबाट जरायोको मासुसहित दुई जना पक्राउ
पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको श्री सबुज गणको संयुक्त टोलीले निकुञ्ज क्षेत्रबाट जरायोको मासुसहित दुई जनालाई पक्राउ गरेको छ।
निकुञ्ज प्रशासनका अनुसार जेठ ८ गते तामागढी क्षेत्रबाट करिब तीन किलोमिटर पश्चिम रहेको पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाको साथबाट जरायोको मासु बरामद गरिएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरू निकुञ्जको मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने स्थानीय बासिन्दा रहेको खुलेको छ। उनीहरू अवैध वन्यजन्तु शिकार तथा ओसारपसारमा संलग्न रहेको प्रारम्भिक छानबिनले देखाएको निकुञ्ज प्रशासनले जनाएको छ।
यसैबीच पछिल्लो तीन महिनामा सुरक्षा टोलीले निकुञ्जका विभिन्न क्षेत्रबाट चार नाल भरुवा बन्दूक, सात जना शिकारी तथा ठूलो परिमाणमा जरायोको मासु बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाइएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ।










