काभा महिला भलिबलमा आज नेपाल र माल्दिभ्स भिड्दै, सेमिफाइनल लक्ष्यमा घरेलु टोली
काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज काठमाडौँमा तीन महत्वपूर्ण खेल हुँदैछन्। प्रतियोगितामा सहभागी टोलीहरू सेमिफाइनल यात्रालाई बलियो बनाउन मैदान उत्रने तयारीमा छन्।
आजको पहिलो खेलमा पुल ‘बी’ अन्तर्गत इरान र श्रीलंका अपराह्न १२ बजे आमनेसामने हुनेछन्। त्यसपछि दिउँसो साढे २ बजे बंगलादेश र काजकिस्तान बीच प्रतिस्पर्धा हुनेछ।
दिनको सबैभन्दा प्रतीक्षित खेलमा भने घरेलु टोली नेपाल ले साँझ ५ बजे माल्दिभ्स सँग भिड्नेछ। नेपालका लागि यो खेल ‘गर या मर’ को अवस्थामा रहेको छ। सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउनुपर्ने दबाब रहेको छ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा भारत सँग हार बेहोरेको थियो भने दोस्रो खेलमा किर्गिस्तान माथि शानदार जित निकालेको थियो। उता माल्दिभ्सले भने भारत र किर्गिस्तान दुवैसँग सोझो सेटमा पराजय भोगेको छ।
जेठ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, किर्गिस्तान, माल्दिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्। प्रतियोगिताका लागि कप्तान निरुता ठगुन्ना को नेतृत्वमा १४ सदस्यीय नेपाली टोली मैदानमा उत्रिएको छ।









