‘लालीबजार’को क्रेज कायमै, हलमा दर्शकको भीड बढ्दो

कोल्हवी न्यूज
२०८३ जेष्ठ ९, शनिबार १४:२० गते

लालीबजार प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा पनि दर्शकको आकर्षण कायमै रहेको छ । शनिबार देशभरका अधिकांश हलमा फिल्मले राम्रो दर्शक उपस्थिति पाएको छ भने केही शो हाउसफुलसमेत भएका छन् ।

रवीन्द्रसिंह बानियाँ ले फिल्म हेर्न परिवारसहित दर्शक हलसम्म आइरहेको बताए । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहर पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका उनले फिल्मले मनोरञ्जनसँगै दिएको सामाजिक सन्देश दर्शकले मन पराएको प्रतिक्रिया दिए ।

उनका अनुसार फिल्मले आमा–छोरीको कथामार्फत शिक्षाको महत्व प्रस्तुत गरेको छ, जसले आम दर्शकलाई भावनात्मक रूपमा छोएको छ । धेरै दर्शकले फिल्म हेरेपछि आफू आमाको संघर्षसँग जोडिएको अनुभव सुनाउने गरेका छन् ।

अभिनेता बानियाँले शनिबार पनि अभिनेत्री स्वस्तिमा खड्का सहितको टोली काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकलाई सरप्राइज दिने जानकारी दिएका छन् ।

यम थापा को लेखन तथा निर्देशनमा बनेको फिल्मले दुई सातामा ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाएको छ । निर्माण टिमले यो विकेन्ड सकिँदासम्म फिल्मले ६ करोड रुपैयाँको व्यापार पार गर्ने विश्वास लिएको छ ।

फिल्मको कथा, निर्देशन र कलाकारहरूको अभिनयलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । दर्शकबाट प्राप्त भइरहेको ‘वर्ड अफ माउथ’का कारण आगामी दिनमा पनि फिल्मको व्यापार अझ राम्रो हुने अपेक्षा गरिएको छ ।

फिल्मको ट्रेलर युट्युबको मुभी चार्टमा नम्बर १ मा ट्रेन्डिङमा रहेको छ । सार्वजनिक भएको एक महिनापछि पनि ट्रेलरले २२ लाखभन्दा बढी भ्यूज पाएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायत कलाकारको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*