सात वर्षपछि हत्या आरोपित बाराका एक व्यक्ति पक्राउ
चितवन प्रहरीले हत्या आरोपमा फरार रहेका बाराका एक व्यक्तिलाई सात वर्षपछि पक्राउ गरेको छ।
२०७६ साल चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउन्डभित्र मजदुर बस्ने कोठामा एक पुरुष मृत अवस्थामा फेला परेका थिए। मृतक बाराको फेटा गाउँपालिका–३ निवासी ४६ वर्षीय सखिचन महरा रहेको प्रहरीले जनाएको छ।
घटनापछि गरिएको अनुसन्धानका क्रममा बाराकै फेटा गाउँपालिका–४ निवासी पुनदेव भनिने पञ्चदेव महराले हत्या गरेको खुलेको थियो। त्यसपछि चितवन जिल्ला अदालतबाट २०७६ चैत २५ गते पक्राउ अनुमति लिएर प्रहरीले उनको खोजी गर्दै आएको थियो।
प्रहरीका अनुसार लामो समयदेखि फरार रहेका पञ्चदेव महरा फेटा गाउँपालिका–१ त्रिवेणी क्षेत्रमा लुकीछिपी बसेको गोप्य सूचनाका आधारमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त टोलीले उनलाई जेठ ५ गते नियन्त्रणमा लिएको हो।
हाल पक्राउ परेका महरालाई इलाका प्रहरी कार्यालय खैरहनीको हिरासतमा राखेर चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










