‘लालीबजार’ तेस्रो सातामा, कमाइ ५ करोड २५ लाख नाघ्यो

कोल्हवी न्यूज
२०८३ जेष्ठ ८, शुक्रबार १६:५३ गते

लालीबजार प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म ५ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनी षट्कोण आर्ट्स ले जनाएको छ।

कम्पनीका सिइओ तथा निर्माता म्याक्स दीपेश खत्री का अनुसार फिल्मले जेठ ७ गते राति ११ः५९ बजेसम्म उक्त आम्दानी गरेको हो।

उनले आमा–छोरीको सम्बन्ध र शिक्षाको महत्वलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गरिरहेको बताए। उनका अनुसार विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकलाई फिल्म हेर्न पठाउने र स्वदेशमै रहेका छोरीहरूले आमालाई हलसम्म ल्याउने क्रम बढेको छ।

फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का ले पनि देशभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताएकी छन्। उनले पूर्वदेखि पश्चिमसम्मका दर्शकले फिल्मलाई समान रूपमा रुचाएको उल्लेख गरिन्।

निर्माण पक्षका अनुसार पहिलो साताको तुलनामा दोस्रो सातामा करिब १० प्रतिशत बढी दर्शकले फिल्म हेरेका छन्। दर्शकले विशेषगरी फिल्मको कथा, निर्देशन र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन्।

फिल्म हेरेर निस्किएका धेरै दर्शकले आमाको संघर्षसँग आफूलाई जोडिएको अनुभव व्यक्त गरेको निर्माण पक्षले जनाएको छ। सकारात्मक ‘वर्ड अफ माउथ’ का कारण आगामी दिनमा पनि फिल्मको व्यापार उत्साहजनक रहने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*