डब्लुएचओ महानिर्देशकसँग स्वास्थ्यमन्त्री मेहताको भेट
जेनेभा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससबिच भेटवार्ता भएको छ।
स्वीटजरल्याण्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा भएको भेटमा नेपाल र डब्लुएचओबीचको सहकार्य तथा स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भेटका क्रममा महानिर्देशक डा. टेड्रोसले विश्व स्वास्थ्य सङ्गठन नेपालसँग सहकार्य र सहयोगका लागि सधैँ प्रतिबद्ध रहने बताएका थिए।
मन्त्री मेहताले महानिर्देशकसँगको भेट फलदायी भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको बताइन्।
विश्व स्वास्थ्य सभामा सहभागी हुन मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै जेनेभा पुगेकी हुन्। सभाकै क्रममा उनले भारतीय तथा चिनियाँ समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।










