नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण कुमार प्रधान निर्वाचित
नेपाल चलचित्र निर्देशक समाज को अध्यक्षमा अरुण कुमार प्रधान निर्वाचित भएका छन् ।
मंगलबार काठमाडौंमा सम्पन्न समाजको १८औं वार्षिक साधारण सभा तथा महाधिवेशनमा प्रधानले आफ्ना निकटतम प्रतिद्वन्द्वी जनकदीप पराजुली लाई ६३ मतले पराजित गर्दै नेतृत्व हात पारेका हुन् ।
निर्वाचनमा अरुण कुमार प्रधानले १०९ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष जनकदीप पराजुली ४६ मतमा सीमित भएका थिए ।
समाजको दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली विजयी भएका छन् । सुवासले ९५ मत प्राप्त गर्दा दीपकले ७१ मत ल्याएका थिए ।
महासचिवमा समुन्द्र भट्ट १०६ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी कमल एक्चै मगर ले ४७ मत प्राप्त गरेका थिए ।
सचिव पदमा राजबहादुर साने ८० मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी दिनेश लिङ्देन ले २८ मत प्राप्त गरे ।
यस्तै, कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित भए । सह–कोषाध्यक्षमा उत्सव केसी विजयी हुँदा उनले ६६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी अमृतमान महर्जन ले ४४ र भीषण राई ले ४२ मत प्राप्त गरेका थिए ।
महाधिवेशनबाट निर्वाचित अधिकांश पदाधिकारी अरुण कुमार प्रधान समूहका रहेका छन् ।
त्यस्तै, सदस्य पदमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । निर्देशकहरूको हकहित र पेशागत सुरक्षाका लागि यो संस्था २०५७ सालमा स्थापना भएको हो ।










