२२ वर्षपछि आर्सनल प्रिमियर लिग च्याम्पियन, नर्थ लन्डन उत्सवमय

कोल्हवी न्यूज
२०८३ जेष्ठ ६, बुधबार ०७:०७ गते

आर्सनलका समर्थकहरूका लागि अन्तत: प्रिमियर लिगको उपाधि जित्ने २२ वर्ष लामो र कठिन पर्खाइ समाप्त भएको छ । मंगलबार राति म्यानचेस्टर सिटी आफ्नो महत्त्वपूर्ण खेलमा बर्नमाउथसँग बराबरीमा रोकिएपसँगै आर्सनल च्याम्पियन घोषित भएको हो ।

उपाधि होडलाई अन्तिम दिनसम्म लम्ब्याउन म्यानचेस्टर सिटीलाई जित्नैपर्ने दबाब थियो, तर पेप ग्वार्डिओलाको टोली १-१ को बराबरीमा रोकिएपछि आर्सनल सन् २००३-०४ को ‘इन्भिन्सिबल्स’ सिजनपछि पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो ।

बर्नमाउथविरुद्धको खेलमा ३९औं मिनेटमा जुनियर क्रुपीले गोल गर्दै सिटीलाई पछि पारेका थिए । खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि उपाधि होडलाई जीवित राख्न त्यो पर्याप्त भएन ।

म्यानचेस्टर सिटीको खेल सकिनेवित्तिकै नर्थ लन्डनका पबहरू र एमिरेट्स स्टेडियम बाहिर भेला भएका आर्सनलका हजारौं समर्थकहरूले भव्य उत्सव मनाएका छन् ।

null

आर्सनलको ट्रेनिङ ग्राउन्डमा जम्मा भएका खेलाडी र स्टाफहरूले पनि एकअर्कालाई अङ्गालो हाल्दै नाचेर र ‘क्याम्पिओनेस, क्याम्पिओनेस, ओले ओले ओले!’ गाउँदै खुसियाली मनाएका थिए।

गत महिना सिटीसँग पराजित हुँदा ‘अझै सकिएको छैन’ भनेका आर्सनलका कप्तान डेक्लान राइसले उपाधि पक्का भएपछि सामाजिक सञ्जालमा तस्बिर राख्दै ‘अब पूरा भयो’ भनी सन्देश दिएका छन्।

लामो पर्खाइपछि प्राप्त यो सफलतालाई समर्थकहरूले आ-आफ्नै तरिकाले मनाइरहेका छन्। यसैबीच, बेलायतका प्रधानमन्त्री तथा आर्सनलका समर्थक सर कियर स्टार्मर, लन्डनका मेयर सादिक खान र फर्मुला वान च्याम्पियन लुइस ह्यामिल्टनले टोलीलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।

null

मिगेल आर्टेटाको सातौं वर्षको प्रशिक्षणमा आर्सनलले यो ऐतिहासिक सफलता चुमेको हो। खेलाडीको रूपमा प्रिमियर लिग खेलेर म्यानेजरको रूपमा उपाधि जित्ने आर्टेटा पहिलो पूर्व प्रिमियर लिग खेलाडी बनेका छन्। यो सिजन आर्सनलको सफलता सुदृढ रक्षापङ्क्ति र सेट पिसमा प्राप्त महारथमा टिकेको छ ।

टोलीले लिगमै सबैभन्दा कम २६ गोल खाएको छ, १९ वटा क्लिन सिट राखेको छ र सेट पिसबाट लिगकै सर्वाधिक २४ गोल गरेको छ, जसमा कर्नरबाट मात्र १८ गोल समावेश छन् । गाब्रिएल र सालिबाको जोडी विश्वकै उत्कृष्टमध्ये एक साबित भएको छ ।

टोलीको प्रदर्शन खस्किएको बेला आर्टेटाले खेलाडीहरूलाई आफ्ना नकारात्मक सोचहरू एउटा आगोमा फाल्न लगाएर मनोवैज्ञानिक रूपमा बलियो बनाएका थिए । साथै, खेलाडीहरूलाई उत्साहित बनाउन एउटा एआई निर्मित टिकटक गीतको प्रयोग पनि निकै चर्चित बनेको थियो । १५ वर्षीय म्याक्स डाउमन जस्ता प्रतिभावान युवा खेलाडीलाई टोलीमा समावेश गरिनु र पूर्व स्पोर्टिङ डाइरेक्टर एडुसहितको टोलीले गरेको उत्कृष्ट खेलाडी भर्नाले यो सफलता सम्भव बनाएको हो ।

null

प्रिमियर लिगको उपाधि जितिसकेको आर्सनलको नजर अब ‘डबल’ उपाधिमा केन्द्रित छ । आउँदो मे ३० मा आर्सनलले च्याम्पियन्स लिगको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेनको सामना गर्दैछ ।

यदि आर्सनलले उक्त फाइनल जितेमा, उनीहरूले क्लबको इतिहासमै पहिलो पटक युरोपियन च्याम्पियन बन्ने गौरव प्राप्त गर्नेछन् र यो सिजनलाई क्लबको इतिहासकै सर्वोत्कृष्ट सिजनको रूपमा दर्ता गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*