मधेशमा खेलकुदको इतिहास : पहिलोपटक १९ खेल एकैसाथ सुरु

कोल्हवी न्यूज
२०८३ जेष्ठ ४, सोमबार १६:३१ गते

जनकपुर — मधेश प्रदेशमा पहिलोपटक एकैसाथ १९ वटा खेल समेटिएको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। मधेश प्रदेश सरकारअन्तर्गतको मधेश खेलकुद परिषद् ले आयोजना गरेको प्रतियोगिता सोमवारदेखि प्रदेशका आठवटै जिल्लामा एकसाथ सञ्चालनमा आएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानु ले मधेशमा खेल संस्कृतिको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रियस्तरका प्रतिस्पर्धाका लागि दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताए।

उनका अनुसार प्रतियोगिताले युवालाई खेलतर्फ आकर्षित गर्नुका साथै अनुशासित, स्वस्थ र प्रतिस्पर्धी समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। खेललाई व्यवसायीकरण गर्दै खेलाडी र प्रदेश दुवैको विकासमा टेवा पुग्ने विश्वास पनि परिषद्को छ।

कानुले अन्य प्रदेशभन्दा मधेशले ठूलो स्तरमा खेल आयोजना गरेर नयाँ उदाहरण प्रस्तुत गरेको दाबी गरे। उनका अनुसार खेलकुदमा उच्च बजेट ल्याउँदै आएको बागमती प्रदेश ले हालसम्म १५ खेलसम्मको प्रतियोगिता मात्र आयोजना गरेको अवस्थामा मधेशले एकैपटक १९ खेल सञ्चालन गरेर नयाँ रेकर्ड बनाएको हो।

प्रतियोगितामा प्रदेशका आठ जिल्लाबाट कुल २४७२ जना सहभागी छन्। प्रत्येक जिल्लाबाट १६७ पुरुष खेलाडी, १०८ महिला खेलाडी, १८ प्रशिक्षक र १० व्यवस्थापक सहभागी रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टोली वा खेलाडीले २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि मधेश प्रदेश सरकारले २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*