‘वर्ड अफ माउथ’को बलमा ‘लालीबजार’ले कमायो साढे २ करोड

कोल्हवी न्यूज
२०८३ जेष्ठ २, शनिबार १६:०४ गते

लालीबजार ले प्रदर्शनअघि कानुनी अवरोध सामना गरे पनि हलमा भने उत्साहजनक व्यापार गरिरहेको छ। उच्च अदालत पाटनको आदेशपछि केही समय अन्योलमा परेको फिल्म अदालतबाट प्रदर्शनको अनुमति पाएसँगै वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो।

सकारात्मक ‘वर्ड अफ माउथ’का कारण फिल्मले पहिलो सातामै करिब साढे २ करोड रुपैयाँ व्यापार गरेको निर्माण पक्षले जनाएको छ। दोस्रो सातामा फिल्मको व्यापार अझ बढ्ने अनुमान गरिएको छ। शुक्रबारको व्यापार पहिलो दिनको तुलनामा बढी रहेको बताइएको छ भने शनिबारका लागि देशभर उत्साहजनक टिकट बुकिङ भइरहेको छ। यही गतिमा व्यापार बढे दुई सातामै फिल्मले ५ करोड रुपैयाँको आँकडा पार गर्ने अपेक्षा गरिएको छ।

दोस्रो सातामा फिल्मको शो संख्या पनि उल्लेख्य रूपमा बढेको छ। शनिबारका लागि देशभर दुई सयभन्दा बढी शो पाएको फिल्मले पहिलो साताको तुलनामा लगभग दोब्बर प्रदर्शन अवसर पाएको छ। यसले दर्शकको आकर्षण निरन्तर बढिरहेको संकेत गरेको छ।

लालीबजार बादी समुदायका आमा–छोरीको कथामा आधारित भएकाले समुदायभित्र मिश्रित प्रतिक्रिया देखिएको छ। केही समूहले फिल्मको विरोध गर्दै आन्दोलन गरिरहेका छन् भने अर्का पक्षले फिल्मको खुलेर प्रशंसा गरिरहेका छन्। केही दिनअघि सुर्खेतमा बादी समुदायका डेढ सयभन्दा बढी दर्शकले फिल्म हेरेपछि निर्माण टिमलाई धन्यवाद दिएका थिए।

फिल्मको प्रचारका लागि कलाकार टोली काठमाडौंसहित विभिन्न मोफसलका हलमा पुगिरहेको छ। अभिनेत्री स्वस्तिमा खड्का सहितका कलाकारले नेपालगञ्ज, बुटवल र सुर्खेतका हलमा पुगेर दर्शकसँग भेट गरेका थिए। स्वस्तिमा शनिबार चितवन र आइतबार पोखरा पुग्ने कार्यक्रम रहेको छ।

यम थापा को निर्देशनमा बनेको फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी र तारा शर्मालगायत कलाकारको अभिनय रहेको छ। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*