सर्लाहीको इँटा उद्योगमा पर्खाल भत्किँदा तीनको मृत्यु, दुई घाइते
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित एक इँटा उद्योगमा इँटाको पर्खाल ढल्दा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोडैता नगरपालिका–७ का ५० वर्षीय फिताई मन्सुर, गोडैता–९ का ३५ वर्षीय शम्भु राउत तथा भारत लखिमपुरका ३५ वर्षीय अंगद कुमार रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ६ बजे कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा अचानक इँटाको चाङ भत्किँदा उनीहरू माटो र इँटाले पुरिएका थिए । घटनापछि इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक शिव कटेलको नेतृत्वमा टोली खटिएर उद्धार गरिएको थियो ।
गम्भीर घाइते अवस्थामा उनीहरूलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मलंगवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र वडा नम्बर २ का ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको प्रादेशिक अस्पताल मलंगवामा र अर्काको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।










