महोत्तरीमा यौन हिंसाका घटना नियन्त्रण चुनौतीपूर्ण, धेरै आरोपी अझै फरार

कोल्हवी न्यूज
२०८३ जेष्ठ १, शुक्रबार १५:२२ गते

जनकपुरधाम । महोत्तरी जिल्लामा महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाका घटना नियन्त्रणमा चुनौती देखिएको छ । प्रहरी तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को चैत मसान्तसम्म जबरजस्ती करणीका २८, जबरजस्ती करणी उद्योगका ९ तथा अपहरणपछि करणी गरिएका ६ मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यस्ता घटनामा केही आरोपी पक्राउ परे पनि धेरै अझै फरार छन् । जबरजस्ती करणीका घटनामा ११ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

अधिवक्ता विजयकुमार ठाकुरले प्रेम सम्बन्ध, उमेर नपुगी विवाह तथा पारिवारिक विवादका कारण पनि कतिपय मुद्दा दर्ता हुने गरेको बताए । उनले यौन हिंसा न्यूनीकरणका लागि कानुनी सचेतना, नैतिक शिक्षा र सामाजिक संस्कार आवश्यक रहेको उल्लेख गरे ।

महिला अधिकारकर्मीहरूले पीडितले अझै पनि सामाजिक दबाब, लोकलाज र राजनीतिक प्रभावका कारण न्याय पाउन कठिनाइ भोगिरहेको बताएका छन् ।

यता महोत्तरी जिल्ला अदालतका अनुसार दर्ता भएका धेरै मुद्दामा प्रमाण अभाव, ढिलो उजुरी तथा बयान फेरिने समस्याका कारण दाबी नपुग्ने अवस्था देखिएको छ ।

प्रहरी उपरीक्षक हेरम्ब शर्माले यौनजन्य अपराधलाई प्रहरीले गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाइरहेको बताएका छन् ।

रासस ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*