९ वर्षपछि फिल्ममा फर्किइन् गरिमा पन्त, ‘बाटुलो जून’मा भुवन केसीसँग जोडी

कोल्हवी न्यूज
२०८३ जेष्ठ १, शुक्रबार ०६:३६ गते

काठमाडौं । चर्चित अभिनेत्री गरिमा पन्त करिब ९ वर्षपछि नेपाली फिल्म क्षेत्रमा पुनरागमन गरेकी छन् । उनले निर्माणाधीन फिल्म ‘बाटुलो जून’ मार्फत अभिनयमा फर्किएकी हुन् ।

हाल भक्तपुरमा फिल्मको अन्तिम चरणको छायांकन भइरहेको छ । बिहीबारबाट गरिमाले आफ्नो भागको छायांकन सुरु गरेकी छन् । प्राप्त जानकारीअनुसार फिल्ममा उनको जोडी भुवन केसीसँग बाँधिएको छ । फिल्ममा उनी बुढ्यौली गेटअपमा देखिनेछिन् ।

गरिमा यही फिल्मका लागि यसै साता बेल्जियमबाट नेपाल आएकी हुन् । अभिनयमा पुनः फर्किएको अनुभव साझा गर्दै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, “केही समयको अन्तरालपछि फेरि क्यामरा, सेट अनि अभिनयसँगको भेट ।”

२०७३ सालमा बेल्जियम निवासी हरि थपलियासँग विवाह गरेपछि उनले फिल्म क्षेत्रबाट दूरी बनाएकी थिइन् । उनी पछिल्लो पटक २०७४ सालमा प्रदर्शन भएको क्अयगत ‘स्काउट’ मा देखिएकी थिइन् ।

गरिमाले २०७० सालमा प्रदर्शन भएको चर्चित फिल्म ‘झोला’ बाट राष्ट्रिय पुरस्कारसँगै सार्क फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी थिइन् ।

उनले ‘निखिल दाइ’, ‘जीवन मृत्यु’, ‘प्रितीको फूल’, ‘दिदी भाइ’, ‘मनले मनलाई छुन्छ’ र ‘सुन्दर मेरो नाम’ लगायत दुई दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेकी छन् । लामो समयपछि पर्दामा फर्किन लागेकी गरिमालाई दर्शकले उत्साहका साथ पर्खिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*