बारामा ट्रान्सफर्मर विस्फोटमा घाइते मजदुरको उपचारकै क्रममा मृत्यु

कोल्हवी न्यूज
२०८३ बैशाख ३०, बुधबार ०७:०० गते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेष्ट छाला उद्योगमा ट्रान्सफर्मर विस्फोट हुँदा गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय चरनजित यादव रहेका छन्।

वैशाख २२ गते उद्योगमा ट्रान्सफर्मर जडान गर्ने क्रममा अचानक विस्फोट हुँदा यादव गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयवासी र पीडित परिवारले दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्तिको माग गर्दै पथलैया–वीरगञ्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही समय सडक अवरुद्धसमेत भएको थियो।

स्थानीयले उद्योग प्रशासन तथा ट्रान्सफर्मर मर्मतमा संलग्न कम्पनीको लापरवाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्। पीडित परिवारले घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले अनमोल गुरुङ र सोनु यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*