आँबुखैरेनीमा पर्यटक बसको ठक्करबाट स्थानीय वृद्धको मृत्यु
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको प्र.३–०१–००१ प १६०९ नम्बरको पर्यटक मिनि बसले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ७० वर्षीय बिर्खबहादुर चुमीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार साँझ करिब ७ः४० बजे भएको दुर्घटनामा चुमी गम्भीर घाइते भएका थिए। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि दमौलीस्थित प्रदेश अस्पताल पठाएको छ। हाल शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालक गोरखाको पालुङटार नगरपालिका–१ निवासी ३८ वर्षीय मनोज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने बसलाई पनि प्रहरी चौकी डुम्रेको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।











