निजगढ होटलमा युवती मृत फेला, हत्या आशंकामा तीन पक्राउ

कोल्हवी न्यूज
२०८३ बैशाख २९, मंगलवार १४:४९ गते

निजगढ स्थित एक होटलमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी युवतीको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

वैशाख २५ गते निजगढ नगरपालिका–९ बुद्धचोकमा रहेको गुरुङ होटलमा बसेकी निजगढ–१२ निवासी २५ वर्षीया सीता थिङ घाइते अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरी नजिकैको सामुदायिक अस्पताल प्रसूति गृहमा पुर्‍याएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख नरेन्द्र कुँवर का अनुसार घटनाको प्रकृति शङ्कास्पद देखिएकाले शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको हो। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकसँग होटलमा १८ वर्षीया अनु सुनार, जितपुरसिमरा–१६ टाङ्गिया बस्तीका ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन पनि पुगेका थिए। सीता थिङ र महेश माझी एउटै कोठामा बसेका थिए भने अन्य दुई जना छुट्टै कोठामा रहेको प्रहरीको भनाइ छ।

घटनापछि तीनै जनालाई नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक बयानमा महेश माझीले सीता थिङ शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको बताएका छन्। अर्को कोठामा रहेका अनु सुनार र सुनिल बोम्जनले पनि झुन्डिएको अवस्थामा देखेपछि उद्धारमा सहयोग गरेको दाबी गरेका छन्।

तर प्रहरीले मृतकको घाँटीमा चोटको दाग र महेश माझीको गालामा समेत चोट देखिएकाले घटनामा झगडा वा हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरेको जनाएको छ।

घटनापछि फरार रहेका सुनिल बोम्जनलाई टाङ्गिया बस्ती नजिकैको जंगलबाट तथा महेश माझीलाई निजगढ–७ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*