सापटीको विवादले लियो ज्यान, चितवनमा युवक हत्या प्रकरणमा दुई पक्राउ
चितवन, २९ वैशाख — आर्थिक लेनदेनबाट सुरु भएको विवादले हिंसात्मक रूप लिँदा चितवनमा एक युवकको हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो वर्कसपमा कार्यरत ३० वर्षीय आशिष खनालको हत्या आरोपमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट–१७ निवासी कृष्णबहादुर खड्का तथा स्याङ्जाको जगतभञ्ज्याङ घर भई हाल पोखरामा बस्दै आएका सम्राट गुरुङ पक्राउ परेका हुन्।
प्रहरीका अनुसार वैशाख २२ गते राति घटना भएपछि फरार रहेका दुवैलाई आइतबार पोखरास्थित एक होटलबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मृतक आशिष र कृष्णबहादुरबीच पुरानो चिनजान र मित्रता थियो। केही महिनाअघि सँगै काम गर्ने क्रममा उनीहरूबीच आर्थिक कारोबार भएको र त्यही विषयले विवादको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानमा आशिषले लिएको सापटी रकम समयमै फिर्ता नगरेपछि कृष्णबहादुरले उनको मोबाइल आफ्नो कब्जामा राखेको देखिएको प्रहरीले जनाएको छ। पछि मोबाइल फिर्ता माग्ने विषयमा झगडा बढ्दै जाँदा घटना हत्या सम्म पुगेको प्रारम्भिक निष्कर्ष छ।
प्रहरीका अनुसार घटनाको समयमा मुख्य आरोपी कृष्णबहादुर मादक पदार्थ सेवन गरेको अवस्थामा थिए। अर्का पक्राउ परेका सम्राट गुरुङमाथि आरोपीलाई फरार हुन सहयोग गरेको आशंकामा अनुसन्धान भइरहेको छ।










