रक्सौलमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने, पटना एयरपोर्टभन्दा ठूलो हुने दाबी

कोल्हवी न्यूज
२०८३ बैशाख २७, आईतवार १६:५३ गते

भारतको सीमावर्ती सहर रक्सौलमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ। परियोजना सम्पन्न भएपछि यो विमानस्थल पटना एयरपोर्टभन्दा ठूलो र आधुनिक हुने दाबी गरिएको छ।

शनिबार प्रस्तावित विमानस्थल क्षेत्रको स्थलगत निरीक्षण गर्दै सांसद डा. संजय जायसवालले परियोजनालाई अत्याधुनिक संरचनासहित ठूलो हवाई हबका रूपमा विकास गरिने जानकारी दिए।

उनका अनुसार विमानस्थलको रनवे तिलावे नदी पारसम्म विस्तार गरिनेछ, जसले ठूला जहाजहरूको सहज अवतरण र उडान सम्भव बनाउनेछ। परियोजनाका लागि आवश्यक करिब १३९ एकड जमिनमध्ये झन्डै ७० प्रतिशत भूमि अधिग्रहण सम्पन्न भइसकेको बताइएको छ।

सांसद जायसवालले कन्सल्टेन्ट छनोटका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको र आगामी तीन महिनाभित्र विस्तृत डिजाइन तयार गरिने बताए। निर्माण कार्य पूरा गर्न १८ महिनाको समयसीमा तय गरिएको जनाइएको छ।

उनले विमानस्थल सञ्चालनमा आएपछि रक्सौल क्षेत्रको व्यापार, पर्यटन तथा रोजगारीका अवसरमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गरे। साथै दिल्ली लगायत ठूला सहर जान पटना विमानस्थल पुग्नुपर्ने बाध्यता पनि हट्ने उनको दाबी छ।

यो परियोजना सन् २०१६ मा प्रधानमन्त्री प्याकेज अन्तर्गत अघि बढाइएको भए पनि प्रशासनिक कारणले केही समय रोकिएको थियो। तर २०२३ पछि भूमि अधिग्रहण प्रक्रिया तीव्र बनेसँगै परियोजनाले पुनः गति लिएको जनाइएको छ।

स्थलगत निरीक्षण तथा पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*